काठमाडौं । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (एनएनएसएम)का अध्यक्ष चिरन बरालले निःशुल्करूपमा वैदेशिक रोजगारीमा गएको विषय कामदारले नै प्रचार गर्नुपर्ने बताएका छन् । फ्युजन इन्टरनेशनल प्रा.लि.बाट निःशुल्क लागतमा मलेसियाको नेचर ग्रिन एसडीएन बिएसडी कम्पनीमा जान लगेका २५ कामदारको बिदाइका क्रममा एनएनएसएमका अध्यक्ष बरालले नेपालबाट निःशुल्करूपमा वैदेशिक रोजगारीमा पठाउने क्रमलाई वृद्धि गर्न रोजगारीमा जाने कामदारहरूले नै आफू र परिवारमार्फत प्रचार गरे अन्य व्यक्तिले लाभ लिनसक्ने बताए ।
उक्त म्यानपावर कम्पनीका सञ्चालक कुमुद खनालले यसै वर्ष तीन चरणमा निःशुल्क लागतमा मलेसिया कामदार पठाएको र अघिल्ला वर्षहरूको तुलनामा नेपालबाट निःशुल्क लागत अर्थात रोजगारदाताको लगानीमा कामदार पठाउने म्यानपावरको संख्यामा निरन्तर वृद्धि भइरहेको जानकारी दिए ।
मलेसियाको सेलङ्गोर राज्यमा रहेको नेचर ग्रिन एसडीएन बिएसडी कम्पनीमा जान लगेका अन्य २५ जना पनि शून्य लागतमा जान पाउँदा खुसी थिए । उनीहरूले मेडिकल गर्दा लागेको ९ हजार ८ सय ९०, अन्तर्वार्ताका लागि आउँदा जाँदा र तीन दिन काठमाडौंमा बस्दाको ४ हजार ४ सय १४ र अभिमुखीकरण तालिमलगायतमा गरेको खर्च रोजगारदाता कम्पनीले व्यहोरेको छ ।
सञ्चालक खनालले पलास्टिकका सामान उत्पादन गरी युरोपेली बजारमा सप्लाइ गर्ने नेचर ग्रिन एसडीएन बिएसडीबाट आएको फ्याक्ट्री वर्कर अन्तर्गत आएको शून्य लागतको डिमाण्डमा शनिबार तेस्रो समूह पठाउन लागिएको बताए । त्यस अवसरमा ईशारा नेपालकी अनुजा रिमाल, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (एनएनएसएम)का निवर्तमान अध्यक्ष हरि थापा, पत्रकार रेशमराज पौडेलले शून्य लागतमा जाने कामदारको जिम्मेवारी, उपलब्धि र दायित्वका बारेमा जानकारी गराएका थिए ।



