काठमाडौं । कतारले अवैधरुपमा काम गरिरहेका विदेशी कामदारलाई आममाफी दिने घोषणा गरेको छ ।
कतारको आन्तरिक (गृह) मन्त्रालयले तीन महिना अवधि तोकेर अवैध कामदारहरुलाई आममाफी दिने घोषणा गरेको हो । आज फ्रेब्रुअरी ९ देखि सुरु हुने आममाफीको प्रक्रिया मे ८ सम्म चल्नेछ ।
यो अवधिमा विभिन्न कारण करार सम्झौता भएका कम्पनी छाडेर अरु नै ठाउँमा काम गर्दै आएका कामदार स्वदेश फर्किन पाउने छन् । सरकारले उपलब्ध गराएको यो सुविधा लिन हमाद अन्तर्राष्ट्रिय विमानस्थल वा सल्वा रोडमा रहेको सर्च एन्ड फिलो अप डिपार्टमेन्टमा दिउँसो १ बजेदेखि बेलुका ९ बजे भित्र गएर निवेदन दिनुपर्नेछ ।
कतारमा ठूलो संख्यामा अवैध विदेशी कामदार कार्यरत छन्, जसमा नेपालीहरुको संख्या उल्लेख्य छ । अब त्यहाँको सरकारले तोकेको प्रक्रिया पुरा गरेर उनीहरुलाई बिना सजाय घर फर्किन सक्नेछन् ।
कतारले सन् २०१५ मा लागू गरेको आप्रवासी कामदर समबन्धी कानुन नम्बर २१ अनुसारका कामदारलाई आममाफी दिनेछ । तर, आममाफी सुविधा लिएर स्वदेश फर्किने कामदार २ वर्षसम्म फेरि कतारमा जान पाउने छैनन् ।



