Oct 28 2026 | २०८३ कार्तिक १२ गते

श्रम सम्झौता

नेपालसँग श्रम सम्झौता गर्न साउदी तयार

नेपालसँग श्रम सम्झौता गर्न साउदी तयार

सोमवार, माघ २१ २०८१

  • काठमाडौं । साउदी अरबियाले नेपालसँग श्रम सम्झौताका लागि तयार भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदीका समकक्षी अहमद विन सलेमन विन अब्दुल्लाहजिज अल राजीबीच साउदीको रियादमा भएको द्विपक्षीय बैठकमा श्रम सम्झौताका विषयमा  सहमति भएको हो।

    त्यसका लागि घरेलु रोजगारीमा महिला कामदारमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने नेपालको अडान कायमै रहेको छ।

    images

    साउदीले नेपालसमक्ष साधारण श्रमिक, घरेलु श्रमिक र सीप प्रमाणीकरण कार्यक्रमसँग सम्बद्ध सम्झौता गर्ने प्रस्ताव गरेको मन्त्रालयका एक अधिकारीले बताए । साथै, घरेलु कामदारको विषयमा पनि छिट्टै सम्झौता गर्न प्रस्ताव गरेको बुझिएको छ । विज्ञप्तिका अनुसार अन्तिम मस्यौदामाथिको कानुनी प्रक्रिया पूरा भएपछि हस्ताक्षरको मिति टुंगो लगाइने छ ।

    श्रम मन्त्रालयले विगत १० वर्ष अघिदेखि प्रयास गर्दा पनि साउदी सरकारसँग श्रम सम्झौताको विषयले सार्थकता पाएको थिएन । धेरैचोटिको प्रयास, पत्रहरु आदानप्रदानमै सीमित भएको थियो । हालसालै श्रम मन्त्रालयले साउदीसँगको सम्झौताको विषयलाई प्रथमिकतामा राखेर काम गरेको र अन्तिम चरणमा रहेको बताएको अवस्थामा श्रममन्त्री भण्डारीसँग साउदीका अधिकारीले सम्झौताका विषयमा देखाएको तत्परताले अब भने सम्झौता हुनेमा श्रमिकहरु आशावादी बनेका छन् ।

    श्रममन्त्री भण्डारी सम्मिलित ‘विश्वव्यापी श्रमबजार सम्मेलन’मा साउदीका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकालले दूतावासले श्रमिकका लागि आवश्यक सेवा प्रदान गर्न चालेको कदमका विषयमा पनि चर्चा गरेका थिए । त्यसैगरी श्रममन्त्री भण्डारीले नेपाली प्रतिनिधिमण्डलसँग मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयको भ्रमण गरेका थिए । साउदीको श्रमिक भर्ती प्रक्रियालाई सुव्यवस्थित र पारदर्शी कसरी बनाउने विषय उक्त भ्रमणमा छलफल भएको बताइएको छ ।

    साउदीमा घरेलु कामदारबाहेक चार लाख नेपाली कार्यरत छन् । श्रम सम्झौता नभएको अवस्थामा पनि नेपालबाट साउदी जाने क्रम रोकिएको छैन । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार श्रमिक लैजानेमा साउदी दोस्रो स्थानमा छ । चालु आर्थिक वर्षको छ महिनामा साउदीका लागि ७८ हजार ४६८ जनाले श्रम स्वीकृति लिएका थिए । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले श्रमिक भर्ना प्रक्रियामा स्वच्छताको विषय उठाउँदै गर्दा नेपाली श्रमिक भने न्यूनतम पारिश्रमिक नपाउने, करारपत्रमा फेरबल हुने, नेपाल फर्कन नपाउने जस्ता समस्यामा पर्दै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार