काठमाडौं । वैदेशिक रोजगारीका लागि अमेरिका, अष्ट्रेलिया लगायतका देशहरूमा पठाइदिने बहानामा ठगी गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी नियन्त्रणमा पर्नेहरूमध्ये सप्तरी कोइलाली गाउँपालिका–३ घर भइ काठमाडौं महानगरपालिका–३२ तीनकुने बस्ने ४५ वर्षीय शैलेश कुमार, झापा घर भइ काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित र कैलाली भजनी गाउँपालिका–१ घर भइ ललितपुर महालक्ष्मी नगरपालिका–१ बस्ने ३६ वर्षीय विशाल हमाल रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । हमालले आकर्षक तलबसहित रोजगारी दिने बहानामा अमेरिका पठाइदिने बहानामा २ जनाबाट १६ लाख ७० हजार रूपैयाँ ठगी गरेका थिए ।
त्यस्तै झापाका शैलेश कुमारले बेलायत पठाउने बहानामा १ जनाबाट ५ लाख ४० हजार रूपैयाँ र प्रशान्तले भिजिट भिसामा अष्ट्रेलिया पठाउने बहानामा १ जनाबाट ८ लाख रूपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
उनीहरूविरूद्ध वैदेशिक रोजगारअन्तर्गत व्यक्तिगत ठगीमा कारबाही चलाउन थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।
वैदेशिक रोजगार ऐन २०६४ को दफा ४३ मा इजाजत नलिएको व्यक्ति वा संस्थाले वैदेशिक रोजगारमा लगाइदिन्छु भनि कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हर्जनाबापत असुल गर्ने व्यवस्था छ ।



