काठमाडौं । सयुक्त अरब इमिरेट्स (यूएई) को दुबई शहरमा गायक सुजन चापागाईंले लाइभ ब्यान्डसहित प्रस्तुति दिने भएका छन् ।
आगामी जुन १ अर्थात् (जेठ-१८) मा दुबईको अल–नासार लिजरल्याण्डमा प्रस्तुति दिने आयोजक निपफिल्म्सका रमेश ढकालले जानकारी दिए । ढकालका अनुसार अहिलेलाई दुबईको मात्र मिति मात्र तय भएपनि आगामी दिनमा मध्यपूर्वका अन्य मुलुकमा पनि सांगीतिक टुरको पहल भइरहेको बताए ।
उक्त कार्यक्रम निपफिल्म्सले टिम पालाजसँगको सहकार्यमा गर्न लागेको हो । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिज इन्टरनेसनलका साझेदार समेत रहेको निपफिल्म्सका प्रमुख ढकालले सुजनकै संगीत रहेको फिल्म ‘ऊनको स्वीटर’लाई मध्यपूर्वमा वितरणको जिम्मा लिएका छन् ।
पछिल्लो समय रुचाइएका गायक सुजन चापागाईंको यो दोस्रो अन्तर्राष्ट्रिय सांगीतिक यात्रा अन्तर्रगत मध्यपूर्वमा भने पहिलोपटक हो । सन् २०२३ को सुरुवातमा उनी अस्ट्रेलियामा गुञ्जिएका थिए ।
उनको स्वर तथा संगीत रहेको घुमी घुमी, बाफ, फूलथुंगे रानी, लजाएर जस्ता गीत निकै लोकप्रिय छन् ।



