काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्माले सरकारले ल्याएको अध्यादेश गैरआवासीय नेपालीको चाहना विपरीत भएको बताएका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकबाट सिफारिस भएर राष्ट्रपतिले जारी गरेको अध्यादेशमा गैरआवासीय नेपालीको विषय समेटिनु खुसीको कुरा भएपनि संविधानमा नभएको व्यवस्था अनुसार अध्यादेश आएको उनले बताए।
‘एक पटकको नेपाली सधैँको नेपालीको मागमा रहेका हामी गैरआवासीय नेपालीलाई भिसा लगाउनु पर्नेगरी अध्यादेशमा व्यवस्था गरिनु, साथै संविधानले नै स्वीकार गरेको गैरआवासीय नेपालीको विषयलाई अहिले १० वर्षको निःशुल्क भिसामा सीमित गर्न खोजिनु गैरआवासीय नेपालीको चाहना विपरीत हो’, उनले भने ।
त्यसमाथि राजनीतिक अधिकार बाहेक सबै दिने भनिसकेपछि अहिले आएर अधिकार कटौती गरिनु देशकै लागि घाटाको विषय पनि हुक्ने उनको टिप्पणी छ ।
यी विषयलाई सच्याउन र संविधानको मर्मअनुसार अघि बढ्न समेत उनले सरकारलाई आग्रह गरेका छन् ।



