Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ सुरु हुँदै

सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ सुरु हुँदै

बुधवार, जेठ ९ २०८१
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहु आयामिक आवश्यकतालाई एक द्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ।

    मेला आगामी जेठ १७ गते देखि ३० गतेसम्म सातै प्रदेशमा सञ्चालन हुनेछ। मेला हरेक प्रदेशमा २ दिन चल्नेछ। नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्न रणनीतिक रूपमा डिजाइन गरिएको मेलाले रोजगार खोज्नेहरू र रोजगारदाताहरू बीच मध्यस्थताको काम गर्ने बताइएको छ।

    images

    मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त मेलाको बारेमा जानकारी दिएको हो। सम्मेलनमा बोल्दै श्रममन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले आयोजना गर्न लागेको प्रदेशस्तरीय मेला सुरुवात मात्रै भएको बताए। उनले आगामी दिनमा मेलालाई जिल्ला, स्थानीय र वडासम्मै पुर्‍याउन सकिनेमा जोड दिए।

    उनका अनुसार मेलामा रोजगारीको खोजी गरी रहेका व्यक्ति, रोजगारदाता, तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारी सम्बन्धी सबै खालको जानकारी दिने व्यवस्था गरिएको छ।

    ‘मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने, अवसरको कसरी पहिचान गर्ने भन्ने विषयमा जानकारी पाउन सक्नेछन्। त्यस्तै गरी रोजगारीको लागि आवश्यक सीपको बारेमा पनि जानकारी पाउन सक्नेछन्।,’ उनले भने।

    मेलामा श्रमिकको सबै खालको समस्या समाधानका लागि सञ्चालन गरिएको श्रमाधान योजना, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्ड लगायत विभिन्न तालिम प्रदायक संस्थाहरुको पनि सहभागिता रहनेछ। साथै मेलामा सबै तहका श्रमिकको आवश्यकता र रोजगारदाताको आवश्यकताको विषयमा छलफल गरिनेछ।

    मेला कोशी प्रदेशको विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा जेठ १७ र १८ गते सञ्चालन हुनेछ। मधेश प्रदेशको वीरगन्जमा १९ र २० गते सञ्चालन हुनेछ।

    गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते सञ्चालन हुनेछ। लुम्बिनी प्रदेशमा बुटवलमा २३ र २४, कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते हुनेछ भने बाग्मती प्रदेशमा ललितपुरमा जेठ २९ र ३० गते सञ्चालन हुनेछ।

    मेलामा सामी परियोजना, रेमी योजना, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्यामबर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल व्यवसायी महासंघको पनि स्टल राखिनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार