Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

श्रम मन्त्री भण्डारीसँग दक्षिण कोरियाका राजदूतको भेट, नेपाली कामदारलाई दक्षिण कोरिया पठाउनेसम्बन्धी छलफल

श्रम मन्त्री भण्डारीसँग दक्षिण कोरियाका राजदूतको भेट, नेपाली कामदारलाई दक्षिण कोरिया पठाउनेसम्बन्धी छलफल

शुक्रवार, पौष २६ २०८१
  • काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री  शरतसिंह भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताई योङले शिष्टाचार भेट गरेका छन् ।

    बिहीबार मन्त्रालयमा भएको उक्त भेटमा दुई देशबीच भएको श्रम सम्झौताका विभिन्न पक्षहरूबारे छलफल भएको मन्त्रालयका सहायक प्रवक्ता वसन्तबहादुर बोहराले जानकारी दिए ।

    images

    उक्त भेटवार्तामा इपिएस प्रणालीअन्तर्गतको सम्झौतालाई पुनरावलोकन गरी नवीकरण गर्ने र सीपयुक्त कामदारलाई दक्षिण कोरिया पठाउनेसम्बन्धी कार्यविधिबारे छलफल भएको थियो ।

    त्यसै गरी इपिएस उत्तीर्ण भई रोष्टरमा रहेका नेपाली कामदारलाई शीघ्र रोजगारमा पठाउने, सिप बिल्डिङलगायत क्षेत्रमा छनोट भएका कामदारका माग सम्बोधन गर्ने, कोरिया जान सबै चरण पूरा गरेका कामदारलाई छिटो, सरल र सहज ढङ्गबाट पठाउन थप सहजीकरण गर्नुपर्ने विषयमा छलफल भएको छ ।

    मन्त्री भण्डारीले सीप विकासमा कोरिया सरकारले सहयोग गर्न आग्रह गरेका थिए । राजदूत योङले नेपाली कामदारहरूको उच्च कदर गर्दै नेपालबाट निरन्तर कामदार लैजाने र रोष्टरमा नाम समावेश भएका व्यक्तिलाई उच्च प्राथमिकताका साथ रोजगारमा लैजान पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले थप नेपाली कामदार लैजाने विषयमा आफू सकारात्मक रहेकोसमेत बताए ।

    आगामी दिनमा सीपयुक्त कामदार पठाउन सकिने सम्भावना भएकाले दुवै पक्षले सीप विकासमा सहकार्यका लागि प्रतिबद्धता व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार