काठमाडौं । किर्गीस्तानको राजधानी बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा आक्रमण भएपछि सरकारले उक्त क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार भएको हिंसात्मक आक्रमणपछि सरकारले त्यस्तो आग्रह गरेको हो ।
छात्राबासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको र उनीहरूको उपचार भइरहेको बताइएको छ । पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल रहेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल त्यहाँको अवस्था सामान्य छ । किर्गीस्तानको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ ।



