काठमाडौं । खाडी मुलुक ओमानले २५७ भन्दा बढी आप्रवासीलाई नारिकता दिने भएको छ । यसै योजना अन्तर्गत ओमानका राजा (सुल्तान) हैथम बिन तारिकले २ सय ५७ आप्रवासीलाई ओमानी नागरिकता दिने शाही आदेश नम्बर २६–२०२४ जारी गरेका हुन् ।
ओमानी नागरिकता लिन चाहने आवेदकहरूले आन्तरिक मन्त्रालयमा आवेदन दिनुका साथै ६ सय ओमानी रियल शुल्कसहित आवेदन पेस गर्नुपर्ने प्रावधान छ ।
नागरिकता लिन आवेदकहरू ओमानमा बसेको र काम गरिरहेको हुनुपर्छ । उनीहरु कुनै कानुनी विवादमा संलग्न नभएको हुनुपर्नेछ र उनीहरूको स्वास्थ्य राम्रो र सरुवा रोगहरू नभएको पुष्टि गर्ने चिकित्सा प्रमाणपत्र पेस गर्नुपर्ने प्रावधान रहेको छ ।
नागरिकताका लागि आवेदन दिँदा भिसासहितको वैध राहदानी, व्यक्तिगत परिचयपत्र, वैध रेसिडेन्सी कार्ड, विवाहको प्रमाणपत्र (यदि लागू भएमा), पति–पत्नीको राहदानी र बालबालिकाका कागजातहरूको प्रतिलिपि एवं ओमानबाट असल आचरणको प्रमाणपत्र पेस गर्नुपर्नेछ । ओमानी नागरिकताका लागि आवेदन प्रक्रियामा कार्यकारी नियम ९२–२०१९ मा उल्लिखित कागजातहरूको सेट प्रस्तुत गर्नुपर्ने मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ ।
नागरिकताको निम्ति रोजगारदाताबाट आयको कागजात, मूल राहदानी जफत गर्न दूतावासको अनुमतिको प्रमाण, हालको राहदानी जफत गर्ने मनसायको लिखित घोषणा र सबै नाबालिग बालबालिकाको नाम र तिनीहरूका कागजातहरू सूचीबद्ध गरिएको घोषणा गर्नुपर्ने प्रावधान पनि पुरा गर्नु पर्दछ र एकपटक नागरिकता पाइसकेपछि ओमानी राहदानी प्राप्त गर्न मन्त्रालयबाट आवश्यक प्रक्रिया पुरा गरी स्थायी निवास समेत लिनुुपर्ने बाध्यकारी नियम त्यहाँ रहेको छ ।



