Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कोरियाबाट फर्केका पुनको लोभलाग्दो माछापालन : लाखौँ आम्दानी, सन्तान पनि माछापालनमै व्यस्त

कोरियाबाट फर्केका पुनको लोभलाग्दो माछापालन : लाखौँ आम्दानी, सन्तान पनि माछापालनमै व्यस्त

शनिवार, जेठ ५ २०८१
  • बागलुङ । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ । 

    बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी घर भई बागलुङ बजार बस्दै आउनुभएका पुनले विगत छ वर्षदेखि रिसोर्टसँगै माछापालन गर्दै आएका छन् ।

    images

    उनले १४ वर्ष दक्षिण कोरियामा बिताएर फर्केपछि माछापालन सुरु गरेका हुन् । तीन वर्षअघिदेखि माछा खान आउने ग्राहकलाई  मध्यनजर गरी उनले रिसोर्ट पनि खोलेका छन् ।

    ‘श्रमिकका रूपमा कोरिया पुगेको थिएँ । कोरियामा कडा मेहनत र परिश्रम के हो भन्ने शिक्षा पाएँ, कोरियामा कमाएको पैसाले १४ रोपनी जग्गा भाडामा लिएर माछापालन, तरकारीखेती र रिसोर्ट खोलेको हुँ,’ उनले भने, ‘कोभिड–१९ सुरु हुनुअघि एकैपटकमा माछाबाट छ लाखसम्म आम्दानी भयो । त्यसपछि दानाको मूल्य बढ्यो र माछा उत्पादन घटेको छ ।’

    पुनका अनुसार माछाको उत्पादन राम्रो भएमा लगानीको दोब्बर नाफा हुन्छ । कोरियामा जस्तै नेपालमै काम गर्नसके कमाउन सकिन्छ भन्ने लागेर लगानी गरेको उनको भनाइ छ । 

    ५० लाख लगानी गरकाले आम्दानी भए पनि अहिलेसम्म लगानी उठाउन बाँकी रहेको पुनले बताए ।

    उनले छोरा अमृतलाईसमेत माछापालनमा लगाएका छन् । माछापालन सिकाउँदै रिसोर्टको जिम्मेवारी छोरालाई दिएका छन् । ‘कोरियामा मेसिनको गतिमा काम हुने, कामप्रतिको लगाव, मेहनत र श्रमप्रतिको सम्मानबारे गतिलो भोगाइ र सिकाइले नेपालमा फर्केर आराम गर्न सकिँन, ६२ वर्षको उमेरमा माछापालनमा उत्तिकै सक्रिय छु,’ उनले भने । 

    चार वर्ष निकै फस्टाएको माछापालन अहिले घटेको उनको भनाइ छ । १४ रोपनी जग्गाको वार्षिक रु एक लाख ५० हजार भाडा तिर्नुपर्छ । उनले रिसोर्ट, तीन वटा माछापोखरी, रेष्टुराँ, तीन वटा प्लास्टिक टनेल र तरकारीखेती लगाएका छन् ।

    पोखरीमा उत्पादित माछा बागलुङ बजारमै खपत हुने भएकाले बजारको चिन्ता नभएको उनले बताए । उत्पादन बढाउन यस वर्ष भुरामा लगानी थप गरेको पुनले जानकारी दिए । 

    तीन लाखको भुरा पोखरीमा हालेपछि राम्रोसँग हुर्केमा १२÷१५ लाख आम्दानी हुने तर राम्रो उत्पादन नभएमा रु पाँच छ लाखमै सीमित हुने उनको भनाइ छ । –रासस   

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार