काठमाडौँ । युनाइटेड नेपाली डायस्पोरा संगठन (यूएनडीओ) को पहिलो अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।
यहि डिसेम्बर २८ र २९ गते काठमाण्डौमा भएको महाधिवेशनले सोनाम लामाको सभापतित्वमा आगामी तीन बर्षको लागि नयाँ नेतृत्व समेत चयन गरेको छ। लामा नेपाली मुलका अमेरिकी नागरिक हुन् ।
यसै गरि उपसभापतिमा पासाङ रिन्जी शेर्पा (यूएई) , प्रेम गाहा मगर (युरोप) , शशी चन्द्र अधिकारी (अमेरिका) , भोमा देबी लिम्बु (अष्ट्रेलिया) र यम कुमार गुरुङ (हङकङ) सर्वसम्मत चयन भएका छन् ।
यस्तै महासचिवमा कुशल केसी, सचिवमा संगीता कार्की कुवँर र कोषाध्यक्षमा उल्का प्रसाद घिमिरे चयन भएका छन् । २९ सदस्य कार्यसमितिमा ५ महिला र ५ पुरुष केन्द्रिय सदस्य मनोनित गरिने संस्थाले जनाएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) मा विवाद भएपछि युनाइटेड नेपाली डायस्पोरा संगठन (यूएनडीओ) गठन भएको थियो । गत जुलाई ३०, २०२३ मा सर्बोच्च अदालतले परराष्ट्र मन्त्रालयलाई युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (यूएनडिओ) नामको संस्था दर्ता स्वीकृत गर्नु भन्ने आदेश दिएको थियो। सोही आदेश अनुसार नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट विदेशमा बस्ने नेपाली र नेपाली मुलका नेपाली संबन्धी ऐन अन्तर्गत नै यो संस्था दर्ता गरेको हो।
यूएनडिओले नेपालको दिगो सामाजिक–आर्थिक विकासको परिणामको लागि अग्रणी पहलहरू गर्न, नीति निर्माताहरू, नेतृत्वप्रदायी क्षमता भएका व्यवसायीहरु र सरोकारवालाहरूसंग मिलेर सबै नेपालीहरूलाई फाइदा पुग्ने बिषयहरुको पहिचान गरी कार्यान्वयनमा ल्याउने जसले भावी पुस्ताहरूका लागि प्रगतिको विरासत सिर्जना गर्ने उल्लेख गरेको छ।
यो पहिलो महाधिवेशनले आगामी तीनबर्ष अर्थात (२०२४ –२०२७) सम्मको लागि नयाँ नेतृत्व समेत चयन गरेको हो। महाधिवेशनले अल्पकालीन र दिर्घकालिन योजना समेत पारित गरेको छ।



