काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न गोरखा पालुङटारका आयुष भन्ने आकाश बाबु विक र दैलेख नारायण नगरपालिका–९ स्थायी ठेगाना भएका राकेश भन्ने गोपाल सुनार प्रहरी फन्दामा परेका छन् ।
उनीहरुले भिजिट भिसाको आवरणमा नेपाली महिलालाई कुवेत पु¥याइ मानव बेचबिखन तथा ओसारपसार गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूले नेपाली महिलालाई शुरूमा भिजिट भिसामार्फत दुबईमा सेल्स रिप्रिजेन्टेटिभमा काम लगाउने भनि आश्वासन दिएर कुवेत पु¥याइ घरेलु काममा लगाउनुका साथै शारीरिक तथा मानसिक यातना दिइ बन्धक बनाएको दाबी प्रहरीको रहेको छ ।
प्रहरीले पीडितका नातेदारबाट प्राप्त जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट कुवेतस्थित नेपाली दूतावाससँगको समन्वयमा उनीहरूलाई वैशाख २७ गते नेपाल ल्याइएको बताएको छ । यसअघि पनि पटक–पटक नेपाली महिलालाई भिजिट भिसामा यूएई हुँदै कुवेत पुर्याएर घरेलु काममा लगाउँदै आएका विक र सुनारलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्ध पिपलबोटबाट पक्राउ गरेको हो ।
उनीहरुलाइ मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण ऐनअनुसार अनुसन्धान तथा कारबाहीका लागि मावन बेचबिखन अनुसन्धान ब्यूरो बबरमहल पठाइएको तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको प्रहरीले बताएको छ । मानव बेचबिखनमा दोषी ठहरिए २० वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना हुने प्रावधान छ । अन्य फौजदारी अभियोगमा प्रहरीले प्रमाण पु¥याउनुपर्ने र मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण ऐनअनुसारको अभियोगमा पक्राउ परेको अभियुक्तले आफ्नो निर्दाेषिता प्रमाणित गर्नुपर्ने व्यवस्था छ ।



