काठमाडौं । प्रकास रसाइली ‘स्नेही’ प्रमुख रहेको नेपाली कांग्रेसको वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागले वैदेशिक रोजगार तथा श्रम आप्रवासनलाई सहयोग पु¥याउन विभिन्न समिति गठन गर्ने निर्णय गरेको छ । विभागमा हाल अमेरिकामा रहेका मुस्ताङका नवीन शेरचन, यूएईमा कार्यरत रूपन्देहीका चित्रबहादुर केसी, मोरङका जयश बोहोरा, लमजुङका राजेन्द्र अधिकारी, वैदेशिक रोजगार व्यवसायी एलाइन्स ह्युमेनका सुजित श्रेष्ठ, सदिक्षा ओभरसिजका दीपक थापा, अलर्ट ओभरसिजका देवकुमार खोखाली, गुडलक ओभरसिजका सञ्जय पनेरू, ग्लोबल राइजिङका महेश बस्नेत र जेन्युइन प्लेसमेण्टकी हिरादेवी बुढाथोकी मनोनयन भएका छन् ।
सोमबार विभागका नवनियुक्त सदस्य लोकतान्त्रिक एशोसिएसनमा आवद्ध अग्रज व्यवसायीबीच वैदेशिक रोजगार तथा श्रम आप्रवासनलाई सहयोग पु¥याउने लगायतका विषयमा छलफल भएको थियो । छलफलमा एशोसिएसनका पूर्वअध्यक्षहरू किरणकिशोर घिमिरे, विमल ढकाल, प्रज्ञान न्यौपानेलगायतका करिब दुई दर्जन व्यवसायी सहभागी थिए । पूर्वअध्यक्ष ढकालले विभागलाई बढी प्रभावकारी बनाउन सबै पक्ष र क्षेत्रलाई समेटेर जानुपर्ने पक्षमा व्यवसायी सुझाव दिएको र विभाग प्रमुख रसाइलीले विभाग ५० सदस्यीय हुने र सम्बन्धित क्षेत्रका अग्रज र विज्ञहरूसहित थप ४० जना सदस्य थप गरेर जिम्मेवारी तथा मर्यादाक्रम मिलाएर अघि बढ्ने विषयमा छलफल भएको जानकारी दिए ।
विभागले देशगत संयन्त्र, सम्बन्धित मन्त्रालय हेर्ने तीन सदस्यीय समिति बनाउने विषयमा छलफल गरेपनि निर्णय गर्न बाँकी रहेकोे जानकारी गुडलक ओभारसिजका प्रोप्राइटर सञ्जय पनेरूले दिए ।



