काठमाडौं । विभिन्न प्रकृतिका भिसामा विदेश गएर श्रम गरिरहेका श्रमिकहरुलाई ‘वैधानिकीकरण श्रम स्वीकृति’ प्रदान गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि २०८१’ संशोधन गर्दै अन्य प्रकृतिका भिसामा विदेश गएर सोही मुलुकमा रोजगारीका लागि भिसा पाएका श्रमिकलाई वैधानिकीकण श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेको हो ।
यसले भिजिट भिसामा गइ सम्बन्धित मुलुकमा रोजगारी पाएको अवस्थामा उनीहरू वैधानिक कामदार हुनेछन् । श्रम स्वीकृति लिएर गएको कामदार विदेशमा अंगभंग वा मृत्यु भएमा क्षतिपूर्तिको व्यवस्था छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैधानिकीरण श्रम स्वीकृति प्रक्रियालाई पनि सहज बनाएको छ । यस्तो खालको श्रम स्वीकृति माग गर्दा श्रमिकले स्वास्थ्य परीक्षण र पूर्वप्रस्थान अभिमुखीकरण तालिमको प्रमाण पेश गर्नुपर्ने छैन । श्रम स्वीकृतिका लागि अनलाइन आवेदन पेश गरेमा श्रम स्वीकृति प्रदान गर्न अख्तियारी पाएका मन्त्रालयअन्तर्गतका कार्यालय वा निकायबाट वैधानिकीकरण श्रम स्वीृकति प्रदान गरिनेछ । सन् २०२४ को मे ३१ सम्म रोजगारीका लागि भिसा प्राप्त गरी सम्बन्धित मुलुकस्थित नेपाली कूटनीतिक नियोगमा आवेदन गरेका श्रमिकलाई सम्बन्धित नियोगले वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्न सक्नेछ ।
अफगानिस्तानमा जाने श्रमिकहरुको हकमा भने नेपाल सरकारको मन्त्रिपरिषद्को २०७३ असोज २० को निर्णयबमोजिम हुनेछ । साथै सप्लायर्स कम्पनीको सिफारिस पत्र कार्यालय वा विभागको इमेलमा आउनुपर्नेछ । तर नेपाल सरकारले वैदेशिक रोजगारमा जान खुला नगरेका मुलक र पेशाको हकमा यो व्यवस्था लागू हुने छैन ।
वैधानिकीकरण श्रम स्वीकृतिका लागि अनलाइन आवेदन दिनुपूर्व अनलाइन प्रणालीमा सम्बन्धित व्यक्तिको फोटो खिचिने वा औंठा छापमध्ये कुनै एक वा दुवै लिइनेछ । श्रम स्वीकृति प्रदान गरिने जुन निकाय वा कार्यालयमा कामदारको फोटो खिचिएको र जैविक विवरण लिइएको हो श्रमिकले वैधानिकीकरण श्रम स्वीकृतिका लागि अनलाइन प्रणालीमा सोही निकाय वा कार्यालयमात्र छनोट गरी आवेदन दिनुपर्नेछ ।



