काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको साधारण सभा र नयाँ नेतृत्व चयनको मिति नजिकिएसँगै नेतृत्वका आकांक्षी व्यवसायीहरूको आन्तरिक तयारी तीव्र बनेको छ । पटक–पटक मिति सर्दै आएको साधारण सभाको मिति जेठ ५ गते शनिबार तोकिएको छ ।
अध्यक्षका लागि हालका प्रथम उपाध्यक्ष रमेश राई, तृतीय उपाध्यक्ष दीपक थापा, भुवनसिंह गुरूङ, तारानाथ अर्याल, भवानी निरौलाले समूहमा आफ्नो दाबी पेश गरिरहेको बताइएको छ । प्रथम उपाध्यक्षमा विनोदजंग केसी, सेमन्तराज न्यौपानेलगायतले रूची देखाएका छन् भने महासचिवमा सचिव लक्ष्मण पौडेल र अमर प्रकाश तिवारीले आफ्नो इच्छा सार्वजनिकरूपमा व्यक्त गरेका छन् ।
गत निर्वाचनमा तत्कालीन उपाध्यक्ष तारानाथ अर्याल, पूर्वउपाध्यक्ष ऋषि शर्मा, हालका अध्यक्ष कुमुद खनालबीच प्रतिस्पर्धा भएको थियो । हाल एशोसिएसनको सदस्यभन्दा पदाधिकारीमा व्यवसायीहरुको आकर्षण बढी देखिएको छ । नेतृत्वका आकांक्षीहरूले आफूले जिते एशोसिएसनलाई चुस्त नेतृत्व प्रदान गर्न सक्ने दाबी गर्ने गरेका छन् ।
एशोसिएसनको विधानले २३ सदस्यीय कार्यसमिति रहने व्यवस्था गरेको छ । कार्यसमितिमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुसहित २३ सदस्यीय रहने व्यवस्था छ । साधारण सभापछिको निर्वाचनले १९ जनाको मात्रै निर्वाचन गर्नेछ भने ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था रहेको छ ।



