Oct 28 2026 | २०८३ कार्तिक १२ गते

श्रम, रोजगारसम्बन्धी गुनासो सुन्न देशका ११ स्थानमा श्रम कार्यालय

श्रम, रोजगारसम्बन्धी गुनासो सुन्न देशका ११ स्थानमा श्रम कार्यालय

शुक्रवार, बैशाख २८ २०८१
  • काठमाडौं । सरकारले श्रम, रोजगारसम्बन्धी गुनासो केन्द्रमा रहेको ‘श्रमाधान कल सेन्टर’ का साथै देशका विभिन्न ११ स्थानमा रहेका श्रम, रोजगार कार्यालयबाट सम्बोधन गर्न सकिने गरी व्यवस्था गरेको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम र रोजगारसँग सम्बन्धित गुनासोलाई छिटोछरितो र प्रभावकारी गराउनका लागि कल सेन्टरमा आएका गुनासो ती कार्यालयबाट सम्बोधन गर्ने गरी फोकल व्यक्ति तोकिएको हो । श्रमाधान कल सेन्टर वैदेशिक रोजगार बोर्डको सचिवालयमा राखिएको छ । उक्त कल सेन्टर तीन सिफ्टमा कर्मचारी खटाएर चौबिसै घण्टा सञ्चालनमा रहने व्यवस्था गरिएको मन्त्रालयले जानकारी गराएको छ ।

    मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्दप्रसाद रिजालले केन्द्रमा आउने कतिपय गुनासा श्रम मन्त्रालय अन्तर्गत विभिन्न ठाउँमा रहेका श्रम तथा रोजगार कार्यालयबाट सम्बोधन गर्न सकिने भएकाले त्यसलाई छिटोछरितो गर्ने उद्देश्यले ती कार्यालयमा गुनासो सम्बोधनका लागि फोकल व्यक्ति तोकिएको जानकारी दिए ।

    श्रम तथा रोजगारसँग सम्बन्धित आधा गुनासो सम्बन्धित कार्यालयबाट गर्न सकिने भएकाले प्रभावित वा पीडितलाई सहज होस् भनेर नै यो व्यवस्था गरिएको उनको भनाइ छ । प्रवक्ता रिजालले भने, “यो व्यवस्था भएपछि प्रभावितले आफ्नो पायक पर्ने श्रम तथा रोजगार कार्यालयमा गएर मन्त्रालयले तोकेको फोकल व्यक्तिलाई भेटेर गुनासो टिपाउन सक्ने छन् । उक्त गुनासोको सक्दो समाधानका लागि पहल हुने छ ।”

    मन्त्रालयका अनुसार श्रमाधान कल सेन्टरमा आएका गुनासा कोशी प्रदेशमा मोरङको विराटनगर र झापाको भद्रपुर, मधेश प्रदेशमा पर्साको वीरगन्ज र धनुषाको जनकपुर, बागमती प्रदेशमा मकवानपुरको हेटौँडा र काठमाडौँको टेकुमा कार्यालयबाट सुनुवाइ हुने छ ।

    यस्तै गण्डकी प्रदेशमा कास्कीको पोखरा, लुम्बिनी प्रदेशमा बाँकेको नेपालगन्ज र रुपन्देहीको बुटवल, कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा धनगढीमा रहेका कार्यालयबाट सुनुवाइ हुने मन्त्रालयले जनाएको छ ।  गोरखापत्र दैनिकबाट

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार