काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्थाबारे गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण गराएका छन् ।
अध्यागमनबाट भिजिट भिसामा नेपालीहरू असुरक्षितरूपमा वैदेशिक रोजगारमा गएको भन्दै व्यवसायीहरूले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका हुन् । उनीहरूले उक्त कार्यलाई रोक्न माग समेत गराएका छन् ।
एशोसिएसनका तर्फबाट संस्थापक अध्यक्ष तिलकबहादुर रानाभाटले गत शुक्रबार गृहमन्त्री लेखकलाई उनकै कार्यकक्षमा भेटेर ज्ञापनपत्र बुझाउँदै सरकारले पटक–पटक प्रतिबद्धता जनाएको भएपनि वैदेशिक रोजगारका लागि भिजिट भिसामा जाने प्रवृत्ति रोक्न नसकेको भन्दै कडाइ गर्न माग गरिएको थियो।
नेपाल सरकारले घरेलु कामदारको रूपमा यूएई, साउदी अरेबिया, कतार, कुवेत, ओमान र इराकलगायतका देशमा प्रतिबन्ध लगाएको अवस्थामा सामाजिक सञ्जालबाट विज्ञापन गरेर आकर्षक रोजगारीका नाममा ठगी गर्नेहरूले यूएईलाई सुरक्षित आश्रयस्थल बनाएर बसेको विषयमा पनि एशोसिएसनले गृहमन्त्री लेखकको ध्यानाकर्षण गराएको छ ।
उक्त कार्यक्रममा एशोसिएसनका संस्थापक अध्यक्ष एवम् नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष तिलकबहादुर रानाभाट, संघ तथा एशोसिएसनका पूर्व अध्यक्ष बिमल ढकाल, एशोसिएसनका पूर्वअध्यक्षहरू किरण किशोर घिमिरे, प्रज्ञान न्यौपाने, कुमुद खनाल, पूर्वकार्यवाहक अध्यक्ष एवम् संघ महासचिव सुजित कुमार श्रेष्ठ, एशोसिएसनका वरिष्ठ उपाध्यक्ष विनोदजंग केसी, उपाध्यक्ष सेवन्त न्यौपाने, महासचिव महेशकुमार बस्नेतलगायतको सहभागिता रहेको थियो ।



