काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको साधारण सभा २ पटक सरेर जेठ ५ मा सम्पन्न हुनेभएको छ ।
यसअघि वैशख १५ मा गर्ने भनि तय भएको साधारण सभा उपनिर्वाचनका कारण सारेर २८ वैशाखमा पुर्याइएको थियो । प्रमुख अतिथिका रुपमा आमन्त्रित पार्टी सभापति शेरबहादुर देउवा तथा विशिष्ट अतिथि महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइरालाको समय नमिलेका कारण साधारण सभा र कर्यासमिति निर्वाचनको कर्याक्रम फेरि सारिएको जानकारी एशोसियसनका महासचिव कमल काफ्लेले दिए ।
एशोसिएसनले बैशाख २८ गते साधारण सभा गर्ने भनेपनि बिहीबारसम्म १ सय ७० व्यवसायीले मात्रै साधारण सभाका लागि सदस्यता नवीकरण गराएका छन् । बिहीबार सदस्यता नवीकरण गर्ने तयारी गरी आएका केही व्यवसायीले साधारण सभा सर्ने सूचना पाएपछि नवीकरण नगराइ फर्केका छन् । एशोसिएसनले आफूलाई वैदेशिक रोजगारका क्षेत्रमा रहेका राजनीतिक दल निकट अन्य चार संगठनभन्दा धेरै सदस्य भएको संगठन रहेको दाबी गर्दै आएको छ ।
एशोसिएसनको दुई वर्षअघिको साधारण सभाका लागि ३ सय २६ व्यवसायीले सदस्यता नवीकरण गराएका थिए । त्यसमध्ये २ सय ६७ जनाले मतदानमा भाग लिएका थिए । निर्वाचनमा खसेको २ सय ६७ मतमध्ये अध्यक्ष पदमा विजयी कुमुद खनाललाई १ सय ४९ र निकटतम प्रतिस्पर्धी तारानाथ अर्यालले १ सय ६ मत पाएका थिए । अघिल्लो साधारण सभाको तुलनामा यस पटक सदस्यता नवीकरण गर्ने व्यवसायीको संख्या आधाभन्दा कम देखिएको छ ।
एशोसिएसनले भने लेवी अर्थात सदस्यता शुल्क बुझाएर निर्वाचनका लागि योग्य बन्न निरन्तर आग्रह गरिरहेको छ । एशोसिएसनले निर्वाचनसहतिको १२औं साधारण सभामा भाग लिन एशोसिएसनसँग आबद्ध हुन कम्पनीको लेटरहेडमा निवेदन लेखेर इजाजतपत्रको प्रतिलिपि, शेयर लगतको प्रमाणित प्रतिलिपि, नागरिकताको प्रतिलिपि, अटो साइजको २ प्रति फोटोसहित तोकिएको लेवी वैशाख २३ गतेभित्र बुझाउन आग्रह गरेको छ । समयमा लेवी बुझाएर सदस्यता नवीकरण नगरे साधारण सभा र निर्वाचनमा भाग लिन नदिइने जानकारी एशोसियसनले आफ्ना सदस्यहरुलाइ दिएको छ ।



