काठमाडौं । वैदेशिक रोजगारीमा जानुपूर्व लिइने अभिमुखीकरण तालिममा मंगलबारबाट लागू गर्न खोजिएको ‘फेसटाइम एटेन्डेन्स’ र ‘आइरिस रिकग्निसन’ प्रणाली रोकिएको छ । अभिमुखीकरण तालिमप्रदायक संस्थाहरुले उक्त प्रणाली जडान गर्न प्राविधिक समस्या आएको भनी गुनासो गरेपछि मिति सारिएको वैदेशिक विभागले जनाएको छ ।
विभागले मंगलबार नै एक सूचना जारी गर्दै दशैँअघि अर्थात् यही असोज १६ देखि २३ गतेसम्म बायोमेट्रिक फिंगरप्रिन्ट सिस्टमले काम गर्ने उल्लेख गरेको छ । यद्यपि दसैं बिदा सकिएलगत्तै असोज २९ गतेबाट फेसटाइम र आइरिस रिकग्निसन प्रणाली अनिवार्य लागू हुने बताइएको छ । यसका लागि आवश्यक पूर्वतयारी गर्न सबै अभिमुखीकरण व्यवसायीहरुलाई जानकारी दिइएको विभागले जनाएको छ ।
२०८० असोज ७ गते मन्त्रीस्तरीय निर्णयबाट अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ मा दोस्रो संशोधन गरिएको थियो । संशोधनपश्चात् विभागले आवश्यक पूर्वाधार थप्न ३५ दिने सूचना जारी गरेको थियो ।
विभागले अभिमुखीकरण तालिमप्रदायक संस्थाहरुलाई देखाएर आइरिस प्रणाली अहिलेलाई स्थगित गर्नुपरेको बताए पनि विभागकै कारण रोकिएको व्यवसायीहरु बताउँछन् ।
अभिमुखीकरण तालिमप्रदायक संस्थाहरूले विदेश जाने कामदारहरुलाई तालिम नै नदिई प्रमाणपत्र दिने गरेको भन्दै चौतर्फी आलोचना भएपछि यसको सुधारका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अभिमुखीकरण तालिमसम्बन्धी कार्यविधि, २०७६ संशोधन गरेर मापदण्ड थप गरेको थियो । जसमा प्रत्येक प्रशिक्षण कक्षामा ८४ इञ्चको (एन्ड्रोइड १३, र्याम आठ जिबी, एचडिडी १२८ भएको) स्मार्ट बोर्ड दुईवटा, कम्प्युटर, प्रिन्टर र विभागको फेइम्स प्रणालीसँग मेल खाने आइरिस रेटिना हाजिर मेसिन (आइरिस स्क्यानर) अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।



