Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आत्महत्या

विदेशमा आत्महत्या गर्नै नेपाली कामदारको संख्या बढ्दो

विदेशमा आत्महत्या गर्नै नेपाली कामदारको संख्या बढ्दो

बुधवार, आश्विन २ २०८१
  • काठमाडौं ।  रामेछापका सलिन थापाले साउदीमा गत साउन ३ गते आफु बस्ने कोठामा झुण्डिएर आत्महत्या गरें । विहानै आफ्ना साथीहरू काममा गएको मौका छोपेर उनले सिलिङमा रहेको पङ्खामा गलबन्दीको पासो लगाएका झुण्डिएका थिए । साथीहरु कामबाट फर्कंदा उसको इहलिला समाप्त भइसकेको थियो ।

    पाँच महिना अघि मात्र साउदी अरब छिरेका थापा सरसफाईको काम गर्थे । विदेश गएर मनग्य पैसा कमाइन्छ, भन्ने विश्वास बोकेका उनले सोचेजस्तो हुन सकेन ।  विदेश जान भनि लिएको ऋणको भाखा नाग्यो । जसको कारण डिप्रेसनको शिकार बने । अन्तमा आत्महत्या रोजे ।

    images

    गत बैशाखको अन्तिम साता (वैशाख- २७ गते बिहीवार २०८१)  मलेसियास्थित पेनाङ् राज्यमा तनहुँका राजी गुरूङ काम गर्ने कम्पनीको ४ तले भवनबाट हाम्फाले । कार्यस्थलकै साथीहरूले उनलाई तत्काल नजिकैको अस्पताल पुर्याए । तर उनलाई बचाउन सकिएन । गुरूङको आत्महत्याको कारण पनि डिप्रेसननै थियो ।

    सानै उमेरमा बाबु गुमाएका विपन्न परिवारका राजी मलेसिया पुगेको १ वर्ष भएको थियो । तलब राम्रो नभएका कारण उनले मलेसिया जाँदाको सबै ऋण पनि चुक्ता गर्न सकेका थिएनन् । परिवारका लागि भन्दै विदेशी भूमिमा संघर्ष गरिरहेका राजीको सपनामा त्यतिबेला ठूलो बज्रपात भयो, जब उनले ऋण तिर्न नेपाल पठाएको रकम लिएर श्रीमती फरार भएको खबर सुने । राजीले न टेक्ने ठाउँ भेटे, न समाउने हाँगो । घर फर्किने बेलामा थप ऋण लाग्ने भएपछि उनले विदेशी भूमिमै गलामा पासो लगाउनुको विकल्प नै देखेनन् र मृत्यु रोजे । 


    घर परिवारको बढी अपेक्षा, अपरिपक्व र कलिलै उमेरमा घर परिवारसँगको बिछोड, बिदेश आएर सोचेजस्तो धन आर्जन गर्ने सपना पूरा नहुँदा र नेपाल फर्केर गरीखाने उपयुक्त आधार पनि नदेख्दा धेरैजसो नेपाली कामदारहरुले आत्महत्याको  बाटो रोजेको देखिन्छ ।

    एक वर्षअघि कुबेतमा घरेलु कामदारका रूपमा गएकी नुवाकोटकी हरीमाया तामाङ तीन महिना अघि आत्महत्या गरिन् । अघिल्लो दिनसम्म घरपरिवारसँग फोनसम्पर्कमा रहेकी ३४ वर्षीय तमाङले आत्महत्या गर्नुको कारण परिवारले अझै थाहा पाउन सकेका छैनन् । परिवारका सदस्यका अनुसार हरीमायाले बेलाबेला विदेशको रोजगारी नेपालबाट सोचेजस्तो नहुने रहेछ भन्दै आएकी थिइन् । र, घरमा कमाइ पठाउन पनि सकेकी थिइनन् । सोचेभन्दा काम कठिन हुनु र राम्रो पारिश्रमिक नपाएका कारण हरीमायाले आत्महत्या गरेको हुन सक्ने परिवारको आँकलन छ ।

    रोजगारीको खोजीमा विदेश गएका नेपाली कामदारले आफ्नै ज्यान लिएका यी प्रतिनिधि घटना मात्र हुन् । वैदेशिक रोजगारीका लागि गएका नेपालीमध्ये मुत्यु हुनेको संख्या वर्षेनी उकालो लागेको छ। प्रत्येक वर्ष वैदेशिक रोजगारीमा पुगेका कामदारहरुले आत्महत्याबाट जीवन गुमाइरहेका छन् ।

    घर परिवारको बढी अपेक्षा, अपरिपक्व र कलिलै उमेरमा घर परिवारसँगको बिछोड, बिदेश आएर सोचेजस्तो धन आर्जन गर्ने सपना पूरा नहुँदा र नेपाल फर्केर गरीखाने उपयुक्त आधार पनि नदेख्दा धेरैजसो नेपाली कामदारहरुले आत्महत्याको  बाटो रोजेको देखिन्छ ।

    वैदेशिक रोजगारमा जाने कामदारहरुको संख्या बढेसँगै आत्महत्या गर्नेको संख्या बढिरहेको तथ्यांकले देखाउँछ । वैदेशिक रोजगार बोर्डका अनुसार प्रत्येक वर्ष वैदेशिक रोजगारीमा ज्यान गुमाउने कामदारमध्ये १२ प्रतिशतले आत्महत्या रोजेका छन्।  बोर्डका अनुसार वितेको तीन वर्षमा ४ हजार २०० कामदारले परदेशमा ज्यान गुमाए । जसमा ४३३ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् ।

    बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा १०५ जना कामदारले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७९/८० मा १४४  जनाले आत्महत्या गरेका छन् भने,आव २०८०/८१ मा भने यो संख्या बढेर १८४ पुगेको छ ।

    वैदेशिक रोजगारीमा गएर आत्महत्या गर्नेमा सबैभन्दा धेरै मलेसियामा छन् । त्यसपछि खाडी मुलुकमा छन्  । पछिल्लो तीन वर्षमा मलेसियामा मात्र १४० जना कामदारले आत्महत्या गरेका छन् । त्यस्तै दोस्रोमा साउदी छ । साउदीमा ११३ जनाले आत्महत्या गरेका छन् । त्यस्तै यूएईमा ८०, कतारमा ७६ र कुवेतमा ७६ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् ।

    वैदेशिक रोजगारीमा गएका कामदारको आत्महत्याको कारण  एक्लोपन र डिप्रेसन भएको विभिन्न अध्ययनहरुले देखाएका छन् । सम्झौताभन्दा न्यून ज्याला, श्रम शोषण, कठोेर श्रम लगायत कारण श्रमिकमा मानसिक तनाव देखिने सरोकारवाला बताउँछन् ।उनीहरूको अनुसार चिन्ता, निराशा, क्षयरोग, दुर्घटना र चोटपटक, टाउको दुख्नु अनि आत्महत्याको प्रयासलाई खाडी देशमा काम गर्ने कामदारहरूको प्रमुख स्वास्थ्य जोखिमका रूपमा उल्लेख  गरेका छन् ।

    कामदारलाई विदेश जानुअघि दिइने अभिमुखीकरण तालिमलाई प्रभावकारी बनाउनुपर्ने वैदेशिक रोजगार मामिलाका विज्ञहरु बताउछन् । त्यसमा कामदारलाई तनाव व्यवस्थापन र आइपर्न सक्ने मानसिक समस्यासँग जुध्न चाहिने कुराहरु सिकाएर पठाउनुपर्ने उनीहरु बताउँछन् । भन्छन्, ‘विदेश जानुपूर्व कामदारलाई आर्थिक, पारिवारिक र स्वास्थ्यका कारण निम्तिन सक्ने समस्यासँग फेस गर्ने कुराहरु पहिले नै सिकाएर पठाउनुपर्छ ।’

    कामदारहरूका मानसिक स्वास्थ्यसम्बन्धी चुनौतीहरू सम्बोधनका लागि थप कदमहरू चालिनुपर्ने श्रम र मानसिक स्वास्थ्य मामिलाका विज्ञहरूले जोड दिएका छन्।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार