काठमाडौँ । दोहास्थित नेपाली दूतावासले कतारका अमिर महामहिम शेख तमिम बिन हमाद अल थानीको ऐतिहासिक भ्रमणले कतारमा रहेका नेपाली श्रमिकहरूको हितका लागि महत्वपूर्ण आयाम हुने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिरअल थानीले नेपालको दुईदिने राजकीय भ्रमण गरेका छन् ।
दूतावासले एक बिज्ञप्ति जारी गर्दै ‘नेपालका सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर महामहिम शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको अवसरमा हामी कतारमा रहेका सम्पुर्ण नेपालीहरु यस कार्यको सफलताको कामना गर्दछौं’, दूतावासले भनेको छ ।
अमिरको यो ऐतिहासिक राजकीय भ्रमणले नेपाल र कतारबीचको सुमधुर सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै कतारमा रहेका नेपाली श्रमिकहरूको हितका लागि पनि महत्वपूर्ण आयाम हुने विश्वास लिएको जनाएको छ ।
अमिरले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गरेका छन् भने राष्ट्रपति पौडेलले उनको सम्मानमा साँझ राजकीय भोजको आयोजना गरे । बुधबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय वार्ता गर्ने र वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल र कतारबीच हुने विभिन्न विषयका समझदारीपत्रहरु स्वीकृत गर्ने र समकक्षी मिलाई हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरिसकेको छ ।
भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयक अनुसार दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । खाडी मुलुकबाटै पहिलो पटक राष्ट्र प्रमुखको उच्चस्तरीय भ्रमण भएको हो ।
नेपालीहरुको प्रमुख गन्तब्य मध्येको एक कतारका अमिरको नेपाल भ्रमणले दुई देशको रोजगारी तथा बैदेशिक सम्बन्ध पनि थप प्रगाढ हुने विश्वास लिईएको छ ।



