काठमाडौं । मोरङको लेटाङबाट धनकुटाको छ नम्बर बुधबारे हुँदै पाँचथर र पश्चिमी इलामलाई तराईसँग सबैभन्दा छोटो दूरीमा जोड्न सडक निर्माण थालिएको ४५ वर्ष पुगिसक्यो।
‘लेटाङ–छ नम्बर बुधबारे सडक’का नामले परिचित यो सडक निर्माणको आधा शताब्दि पुग्नैलाग्दा अझै निर्माण कार्य पूर्ण रूपमा भने सकिएको छैन।
सडकको सपना देखेका एक पुस्ता उहिल्यै अस्ताइसक्यो । उतिबेलाको तन्नेरी पुस्ता अहिले वृद्ध भइसकेको छ । तर, सुरक्षित सडकको सपना अहिलेको युवा पुस्ताले पनि देख्नुपरिरहेको छ।
मोरङको तत्कालीन लेटाङ गाउँ पञ्चायतका प्रधानपञ्च नीरविक्रम किराँतीले पनि प्रधानपञ्च हुँदा नै सडक सपना देखेका थिए । सपना आफूले मात्रै देखेका थिएनन्, गाउँलेलाई पनि देखाउनेमध्येका एक थिए।
त्यो बेला २०३८ सालमा उनी ३७ वर्षका युवा थिए । अहिले ८२ वर्षका भएका छन् । ‘उमेरले डाँडो काट्यो, आफैले सुरु गरेको सडकले अझै पूर्णता पाउनसकेन’, उनी भन्छन्।
२०३८ सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले धनकुटाको छ नम्बर बुधबारेमा सडकको शिलान्यास गरेका थिए । त्यसबेला ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत धनकुटा, पाँचथर र मोरङका स्थानीयले श्रमदान गर्दै सडक खन्न थालेका थिए । तर, २०४० सालमा सरकार परिवर्तन भएसँगै निर्माण कार्य रोकिएको थियो।
पछिल्ला वर्षहरूमा बजेट अभाव र राजनीतिक परिवर्तनसँगै सडकले प्राथमिकतामा पाउन नसकेको हो । बहुदलीय व्यवस्था पुनर्स्थापना भएपछि स्थानीय जनप्रतिनिधि र सर्वसाधारणले आफ्नै श्रम र लगानीमा सडक निर्माणलाई पुन: सुरु गरेका थिए।
२०५० सालतिर पाँचथरको तत्कालीन लिम्बा गाविसका उपाध्यक्ष थिए मेघराज घिमिरे । त्यो बेला स्थानीयको सामूहिक प्रयासबाट ट्रयाक खोल्न सफल भएको उनी बताउँछन् । ‘त्यो बेला मानिस हिँड्नसक्ने अवस्था बन्यो भने थप स्तरोन्नतिपछि २०६४ सालदेखि सवारीसाधन सञ्चालन हुनथालेका थिए,’ उनी भन्छन्।
तर सडकको कालोपत्र भने पूरा हुन सकेको छैन । ‘सडक अझै पनि जोखिमपूर्ण छ । वर्षायाममा पहिरो, हिलो र साँघुरो सडकका कारण यात्रुहरुले दैनिक जोखिम मोल्नुपर्ने अवस्था छ,’ घिमिरे भन्छन्।
लामो प्रतीक्षापछि २०८० वैशाख २८ गते तीन वर्षभित्र सडक कालोपत्रे गर्नेगरी ठेक्का सम्झौता भएको थियो । मोरङको लेटाङदेखि धनकुटाको छ नम्बर बुधबारेसम्मको २९ दशमलव ४ किलोमिटर सडक कालोपत्रे गर्न सन्तोषी जोया एन्ड ब्रदर्स जेभीले ७७ करोड ३ लाख ५३ हजार रुपैयाँमा ठेक्का पाएको थियो।
तर, सम्झौताको अवधि सकिँदासमेत भौतिक प्रगति करिब ४० प्रतिशत मात्रै भएको छ । हालसम्म लेटाङतर्फबाट करिब ६ किलोमिटर सडक कालोपत्रे भएको छ भने १६ किलोमिटर कटिङ तथा केही स्थानमा सामान्य संरचना निर्माण भएको छ।
सुरुमा वन क्षेत्रको स्वीकृति, विद्युतका पोल स्थानान्तरण तथा अन्य प्राविधिक समस्याका कारण काम ढिलो भएको निर्माण कम्पनीका प्रतिनिधी भीम पौडेलले बताए।
निर्माण कम्पनीलाई पटक–पटक ताकेता गर्दा पनि कामले अपेक्षित गति लिन नसकेको चौबिसे गाउँपालिका–१ का वडाध्यक्ष दीपककुमार श्रेष्ठले बताए।
यता पूर्वाधार विकास कार्यालय मोरङले भने निर्माण कम्पनीले काम नछाडेकाले थप एक वर्ष म्याद थप्ने तयारी भइरहेको जनाएको छ।
यस सडकको करिब ९० प्रतिशत भाग मोरङ र १० प्रतिशत भाग धनकुटामा पर्छ भने यसको प्रत्यक्ष लाभ पाँचथरका अधिकांश बासिन्दाले पाउने छन् । साथै धनकुटाको दक्षिणपूर्वी क्षेत्र, पश्चिमी इलाम र उत्तरी मोरङका नागरिकलाई पनि सहज आवागमनको सुविधा पुग्ने अपेक्षा रहेको छ।
सडक पूर्णरूपमा कालोपत्र बनेपछि कृषि उत्पादन बजारसम्म छिटो पुग्ने, ढुवानी लागत घट्ने, स्थानीय क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको पर्यटन प्रवर्द्धन हुने तथा शिक्षा, स्वास्थ्य र व्यापारिक गतिविधिमा उल्लेखनीय सुधार आउने स्थानीयको अपेक्षा छ।



