Nov 03 2026 | २०८३ कार्तिक १८ गते

स्वास्थ्यमन्त्री मेहता र गाभीको टोलीबीच रणनीतिक सहकार्यबारे छलफल

स्वास्थ्यमन्त्री मेहता र गाभीको टोलीबीच रणनीतिक सहकार्यबारे छलफल

शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौं ।  स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि गाभीको तर्फबाट वरिष्ठ म्यानेजर निल्गुन आयदोगान नेतृत्वको टोलीबीच रणनीतिक सहकार्यबारे छलफल भएको छ।  शुक्रबार भएको भेटवार्तामा गाभी र नेपाल सरकारबीचको सहकार्य २५ वर्ष पूरा भएको अवसरमा रणनीतिक सहकार्यबारे छलफल भएको हो। गत २५ वर्षमा ५५ करोड अमेरिकी डलरभन्दा बढीको खोप, कोल्ड चेन पूर्वाधार र स्वास्थ्य प्रणाली सुदृढीकरणमा गाभीले सहयोग गरेको छ। 

    त्यस्तै, गाभी र नेपाल सरकारबीच सन् २०२७–२०३० को रणनीतिक सहकार्यबारे छलफल भएको छ। गाभीले नेपाल सरकारले प्रदान गर्दै आएका ११ वटा खोपमध्ये पाँच वटा खोपमा सह–लगानी र एक वटा खोप निःशुल्क दिँदै आएको छ। परिवार कल्याण महाशाखाको राष्ट्रिय खोप कार्यक्रममार्फत नियमित खोपसँगै विभिन्न अभियानहरू सञ्चालन गर्न पनि गाभीले सहयोग गर्दै आएको छ। विश्वव्यापी रूपमा वित्तीय स्रोत घट्दै गइरहेको अवस्थामा गाभीद्वारा आगामी अवधिको लागि प्रस्तावित तीन करोड ९६ लाख अमेरिकी डलर बराबरको खोप र एक करोड ८० लाख ६० हजार अमेरिकी डलर नगद अनुदानबारे पनि छलफल भएको छ। यससँगै नेपालले आफ्नो तर्फबाट गर्नुपर्ने एक करोड ७१ लाख अमेरिकी डलरको सह–वित्तीय लगानीका सम्बन्धमा गहन छलफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

    images

    गाभी प्रतिनिधिले राष्ट्रिय खोपको क्षेत्रमा नेपालले हासिल गरेको प्रगतिको प्रशंसा गर्दै भविष्यमा पनि निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन्। स्वास्थ्यमन्त्री मेहताले २५ वर्षको सहकार्यमा राष्ट्रिय खोप कार्यक्रममा महत्त्वपूर्ण योगदान पुर्‍याएकोमा गाभीलाई धन्यवाद ज्ञापन गरिन्। यससँगै नेपालले गाभीलाई करिब तीन लाख आठ हजार २७१ अमेरिकी डलर बराबरको रकम फिर्ता नगर्नुपर्ने भनी हालै गरिएको निर्णयका लागि आभार व्यक्त गरिन्। आगामी दिनमा खोप कार्यक्रमको वित्तीय दिगोपना कायम राख्न निरन्तर सहयोगको लागि अनुरोध गरिन्। 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार