काठमाडौँ । एमाले सांसद कृपाराम रानाले प्रतिनिधिसभाको बैठकमा नेपालको सार्वभौमसत्ता, सीमा विवाद र पछिल्लो समय देखिएको ग्यास अभाव लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार प्रतिनिधिसभामा सांसद रानाले प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भनी दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाए । ‘प्रधानमन्त्री बालेन्द्र शाहले यस्तो राष्ट्रघाती अभिव्यक्ति दिनु गम्भीर विषय हो,’ उनले भने, ‘सभामुख महोदय, यस्तो अभिव्यक्ति संसद्को रेकर्डमा रहन मिल्दैन, यसलाई तत्काल हटाइयोस्।’
सार्वभौमसत्ताका हिसाबले सबै राष्ट्र समान हुने उल्लेख गर्दै उनले सुस्तामा ४० हजार ९८० हेक्टर जमिनमध्ये १४ हजार ८६० हेक्टर भारतले कब्जा गरेको दाबी गरे । त्यस्तै, लिपुलेक, लिम्पियाधुरा र कालापानीको ३९८ वर्ग किलोमिटर जमिन फिर्ता ल्याउन सरकारले कस्तो पहल गरिरहेको छ भनी उनले प्रश्न गरे।
सांसद रानाले काठमाडौँमा भइरहेको ग्यासको हाहाकारबारे सरकारलाई प्रश्न गरे । ‘नेपालमा ६० हजार मेट्रिक टन ग्यास आपूर्ति भएको छ जबकि माग ४५ हजार मेट्रिक टन मात्र छ,’ उनले भने, ‘बाँकी १५ हजार मेट्रिक टन ग्यास कहाँ गयो ? कि यहाँ कालोबजारी भएको छ, कि उच्च पदाधिकारीले हामीलाई ढाँटिरहेका छन्।’ उनले दैलेखको भैरवीमा रहेको ग्यास खानीलाई व्यावसायिक रूपमा उत्खनन गरी दीर्घकालीन समाधान खोज्न समेत आग्रह गरे।



