Nov 03 2026 | २०८३ कार्तिक १८ गते

महिलाका लागि ‘ब्लु बस’ विभेद बढाउन होइन, तत्कालीन सुरक्षाका लागि हो : सिता बादी

महिलाका लागि ‘ब्लु बस’ विभेद बढाउन होइन, तत्कालीन सुरक्षाका लागि हो : सिता बादी

बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता बादीले महिलाका लागि मात्रै छुट्टै बस सेवा सञ्चालन गर्नु लैङ्गिक असमानता नभई विशेष संरक्षणको आवश्यकता भएको बताएकी छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसद मदन कुमारी शाहले ‘ब्लु बस’ सेवाले महिला र पुरुषबिचको दूरी बढाउने र समाजलाई पछाडि धकेल्ने हो कि भनी सोधेको प्रश्नको जवाफमा मन्त्री बादीले यस्तो स्पष्टीकरण दिएकी हुन्।

    सांसद मदनकुमारी शाहले सरकारले साझा यातायातका बसहरूलाई सत्ताधारी दलको रङ (नीलो) मा रङ्गाएर महिलाका लागि मात्रै सञ्चालन गर्नु लोकप्रियताका लागि गरिएको अल्पकालीन उपाय भएको टिप्पणी गरेकी थिइन् । उनले मन्त्री बादीलाई प्रश्न गर्दै भनिन– ‘महिला र पुरुषलाई छुट्टाएर महिलालाई सुरक्षित बनाउने कि सँगसँगै हिँडाएर सह–अस्तित्वको सम्मान गर्ने संस्कार विकास गर्ने ? यस्तो कार्यले सङ्कुचित सामाजिक चिन्तन त जन्माउँदैन?’

    images

    प्रश्नको जवाफ दिँदै मन्त्री बादीले समानताको अर्थ सबैलाई एउटै व्यवहार गर्नु मात्र नभएर जोखिममा रहेकाहरूलाई विशेष सुविधा दिनु पनि भएको तर्क गरिन् ।  ‘सार्वजनिक यातायातमा महिलाले भोग्नुपरेको यौनजन्य दुर्व्यवहार, असुरक्षा र भिडभाडलाई तत्काल सम्बोधन गर्न यो सेवा ल्याइएको हो,’ मन्त्री बादीले भनिन्– ‘यो लैङ्गिक असमानता तर्फको कदम होइन, बरु जोखिम न्यूनीकरण गर्ने विशेष उपाय हो।’

    सरकारको दीर्घकालीन लक्ष्य महिला–पुरुषलाई अलग गराउनु नभएको मन्त्री बादीले बताइन् । अहिलेको अवस्थामा गर्भवती, बच्चाका आमा, ज्येष्ठ नागरिक र अपाङ्गता भएका महिलाहरूको सहज पहुँचका लागि यो सेवा प्रभावकारी देखिएको उनको भनाइ थियो।

    मन्त्री बादीले सरकार केवल ‘ब्लु बस’ मा मात्र सीमित नभएको र समग्र सार्वजनिक यातायातलाई नै महिलामैत्री बनाउन लागिपरेको जानकारी दिइन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार