काठमाडौँ । नेपाल आयल निगमले २९ माघदेखि ३० असारसम्म महिना ७.१ किलोग्राम तौलको ग्यास सिलिन्डर मात्रै बजारमा पठाउन उद्योगहरूलाई निर्देशन दिँदा बजारमा लाइन देखिएको थियो । ६ महिना नहुँदै फेरि बजारमा ग्यासको हाहाकार दोहोरिएको छ।
अहिले बालाजुमा रहेको नेपाल ग्यासको उद्योग र टेकुमा रहेको आयल निगमको कार्यालयमा सर्वसाधारणको नागबेली लाइन छ । ग्यास र पेट्रोलियम पदार्थ आयात गर्ने जिम्मा पाएको सरकारी निकाय आयल निगम भने सामान्य अवस्था भन्दा बढी ग्यास बजारमा गइरहेको दाबी गर्छ।
आयल निगमका अनुसार नेपालभर दैनिक औसतमा एक लाख आठ हजार थान ग्यास सिलिन्डर खपत हुने गर्छ । तर पछिल्लो १० दिनमा दैनिक एक लाख ५६ हजार ४ सय थान ग्यास सिलिन्डर वितरण गर्न पुग्ने ग्यास आयात भइरहँदा पनि बजारमा अभाव कायम छ।
निगमको तथ्यांकले ११ साउनमा १ सय ६ बुलेट ग्यास आयात भएको देखाउँछ । एक बुलेटमा करिब १८ टन ग्यास हुन्छ, जसबाट औसतमा १२ सय ५० थान सिलिन्डरमा १४.२ किलो ग्यास भर्न पुग्छ । तर भरि सिलिन्डर बजारमा पठाउन सुरु गरेसँगै उपभोक्ताको लाम ग्यास वितरण केन्द्रमा सुरु भएको छ।
काठमाडौँ उपत्यकामा आपूर्ति सहजताका लागि निगमले टेकुस्थित पुरानो कार्यालयमा नेपाल, एचपी, श्रीराम, एभरेस्ट र सुगम ब्रान्डको ग्यास सिलिन्डर उपलब्ध हुने व्यवस्था मिलाएको छ । त्यस्तै, देशभरका ५९ वटै उद्योग परिसरमा उपभोक्ता पुगेको खण्डमा ग्यास दिन निर्देशन दिइएको छ । तर पनि एक सातादेखि ग्यास आपूर्ति सहज हुनुको सट्टा असहजता झन् बढेको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार काठमाडौँ, भक्तपुर, मकवानपुर, सुनसरी, सुर्खेत, पर्सा, प्युठान र डोटीमा ग्यासको आपूर्ति सबैभन्दा जटिल छ । यी जिल्लाका उपभोक्ताले ग्यास डिलर र उद्योगमा घण्टौँ लाइन लाग्नुपरे पनि ग्यास नपाएको स्थिति रहेको मन्त्रालयको रेकर्ड छ।



