काठमाडौँ । धनगढी,कैलालीको गोदावरीमा सैन्य तालिमका क्रममा ग्रिनेड पड्किँदा दुई जना सैनिक घाइते भएका छन्। गोदावरी नगरपालिका–४ स्थित वनदेवी फायरिङ रेन्जमा नेपाली सेनाको तेघरी ब्यारेकस्थित देवीदल गणद्वारा सञ्चालित सैन्य तालिमका क्रममा अचानक ग्रिनेड विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
विस्फोटमा परी सहायक सेनानी ३० वर्षीय विक्रम कार्की र २० वर्षीय सैनिक रञ्जित थारु घाइते भएका हुन्। प्रहरीका अनुसार घाइते दुवै सैनिकको स्वास्थ्य अवस्था मध्यम रहेको छ।
घाइते सैनिकहरूलाई घटनालगत्तै प्रारम्भिक उपचारका लागि धनगढीस्थित बोराडाँडी लगिएको थियो। त्यहाँ प्राथमिक उपचार पश्चात् थप र प्रभावकारी उपचारका लागि उनीहरूलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।



