काठमाडौँ । स्वास्थ्य मन्त्रालयले तय गरेका नीतिहरू कार्यान्वयन गर्ने महत्त्वपूर्ण स्थान मानिएको स्वास्थ्य सेवा विभागको नेतृत्व तीन महिनादेखि निमित्तको भरमा चलेको छ । स्वास्थ्य मन्त्रालयमा दुई जना अतिरिक्त सचिव हुँदा विभाग महानिर्देशक विहीन बनेको हो । स्वास्थ्य सेवा विभागमा अतिरिक्त सचिवलाई महानिर्देशकको जिम्मेवारी दिने व्यवस्था छ।
हाल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी इपीडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा.अनुज भट्टचनलाई जिम्मेवारी दिइएको छ । गत वैशाख ३० गते भट्टचनलाई निमित्तको जिम्मेवारी दिइएको थियो। भट्टचन ११औँ तहका अधिकृत हुन् । स्वास्थ्य मन्त्रालयमा दुई जना अतिरिक्त सचिव छन्।
डा.सङ्गीता कौशल मिश्रा र डा.श्रीकृष्ण श्रेष्ठ अतिरिक्त सचिवका रुपमा कार्यरत छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डा.सुधा देवकोटा र डा.विनोदविन्दु शर्माको नाम सिफारिस गरेको थियो
डा.देवकोटा र शर्मामध्ये एक जनालाई १२औँ तहको एक रिक्त तहमा बढुवा गर्नुपर्ने भए पनि मन्त्री परिषद्ले अझै निर्णय गरेको छैन । गत जेठ १९ गते बढुवा समितिले दुई जनाको नाम सिफारिस गरे पनि मन्त्रिपरिषद्ले एक जनालाई बढुवा गर्नुपर्ने प्रावधान छ।



