काठमाडौँ । नेपाली कांग्रेसका सांसद नरेन्द्र केरुङले राजनीतिलाई पेसा नभई सेवाको रूपमा ग्रहण गर्नुपर्ने बताएका छन्।नेपाल अडिटर्स एसोसिएसन (अडान) द्वारा आयोजित कार्यक्रममा बोल्दै सांसद केरुङले हरेक राजनीतिक व्यक्तित्वको आफ्नै मौलिक पेसा हुनुपर्ने धारणा राखेका हुन्।
राजनीतिलाई मात्र आर्जनको माध्यम बनाउँदा समाजमा भ्रष्टाचार र विकृति बढ्ने उनको भनाइ छ। आफू पनि लेखा व्यवसायबाटै आएको स्मरण गर्दै उनले संसदीय कार्यकालका लागि आफ्नो पेसागत प्रमाणपत्र (लाइसेन्स) पाँच वर्षका लागि नेपाल चार्टर्ड एकाउन्टेण्ट्स संस्था (आईक्यान) मा स्थगन गराएको जानकारी दिए।
मुलुकको आर्थिक अनुशासन कायम गर्न र पारदर्शिता सुदृढ बनाउन लेखा परीक्षकहरूको भूमिका महत्त्वपूर्ण रहेको उनले उल्लेख गरे। टोल विकास समितिदेखि अर्बौँको कारोबार गर्ने कर्पोरेट हाउसहरूको हिसाबकिताब हेर्ने जिम्मेवारी लेखा परीक्षककै काँधमा रहेको उनको भनाइ छ।
सांसद केरुङले मुलुकमा दर्तावाल लेखा परीक्षक (आरए) हरूको सङ्ख्या क्रमशः घट्दै गएकोमा गम्भीर चासो व्यक्त गरे। नयाँ दर्ता प्रक्रिया रोकिएका कारण भविष्यमा दुर्गम क्षेत्रका साना संघ-संस्था र टोल विकास समितिहरूको लेखा परीक्षण गर्ने जनशक्तिको अभाव हुन सक्ने उनले औँल्याए।
उनले भने, ‘राजनीतिलाई नै पेसा ठान्ने हो भने भ्रष्टाचारको दुर्गन्ध बाहिर आउँछ। त्यसैले एउटा स्वच्छ समाज निर्माणका लागि राजनीति गर्ने व्यक्तिमा सेवाभाव र छुट्टै पेसागत पहिचान हुनु अनिवार्य छ।’
सांसद केरुङले चार्टर्ड एकाउन्टेण्ट्स (सीए) हरू गाउँका साना उपभोक्ता समिति वा ५० हजारको कारोबार गर्ने टोल विकास संस्थाको लेखा परीक्षण गर्न पुग्न कठिन हुने बताए। उनले भने, ‘त्यसैले निश्चित मापदण्ड र परीक्षाको व्यवस्था गरी दर्तावाल लेखा परीक्षकहरूको नवीकरण वा नयाँ अनुमति दिने व्यवस्था मिलाउनुपर्छ।’
लेखा शिक्षाबारे बोल्दै उनले थपे, ‘संसारमा भर्ना हुन सजिलो र निस्कन गाह्रो विधाको रूपमा लेखा शिक्षा परिचित छ, तर नेपालमा यसको नतिजा र उत्पादनको अवस्थालाई हेरेर समयसापेक्ष सुधार गर्नुपर्ने देखिन्छ।’
आईक्यानबाट उत्पादित जनशक्तिको सङ्ख्या न्यून रहेको र धेरै विद्यार्थी पलायन भइरहेको भन्दै उनले पाठ्यक्रम परिमार्जनको आवश्यकता औँल्याए। आफू जनप्रतिनिधिको भूमिकामा रहे पनि कार्यकाल सकिएपछि पुनः आफ्नै पेसामा फर्किने उनले उद्घोष गरे।



