Nov 03 2026 | २०८३ कार्तिक १८ गते

वित्तीय सुशासनका लागि लेखापरीक्षण क्षेत्रको भूमिका मेरुदण्ड सरह : अनुप नेपाल

वित्तीय सुशासनका लागि लेखापरीक्षण क्षेत्रको भूमिका मेरुदण्ड सरह : अनुप नेपाल

बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौँ । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) का अध्यक्ष अनुप नेपालले मुलुकको अर्थतन्त्रमा पारदर्शिता र वित्तीय सुशासन कायम गर्न लेखापरीक्षण क्षेत्रको भूमिका मेरुदण्ड सरह रहेको बताएका छन्।नेपाल अडिटर्स एसोसिएसन (अडान) को वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

    उनले राज्यको राजस्व सङ्कलनलाई पारदर्शी बनाउन र व्यावसायिक क्षेत्रमा विश्वास अभिवृद्धि गर्न अडानमा आबद्ध लेखापरीक्षकहरूको योगदान उच्च प्रशंसनीय रहेको उल्लेख गरे। एक्यान र अडान दुवै संस्थाको साझा लक्ष्य नेपाली लेखा व्यवसायलाई थप मर्यादित, पारदर्शी र उत्तरदायी बनाउनु रहेको उनको भनाइ छ। उनले आगामी दिनमा पेसागत हकहित र नीतिगत सुधारका लागि सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गरे।

    images

    आजको प्रविधिमैत्री युगमा अन्तर्राष्ट्रिय लेखापरीक्षण मापदण्ड र कर प्रणालीका नयाँ चुनौतीहरूको सामना गर्न दक्षता अभिवृद्धि अपरिहार्य रहेको अध्यक्ष नेपालले बताए। पछिल्लो समय लेखापरीक्षकहरूमा देखिएको ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्बन्धी संशय वा त्रासका बारेमा धारणा राख्दै उनले प्रविधिलाई केवल एउटा साधनका रूपमा लिन आग्रह गरे।

    उनले भने, ‘सन् ८० वा ९० को दशकमा जब क्याल्कुलेटरको आविष्कार भयो, त्यसको प्रयोग गर्न हुँदैन भनेर आन्दोलन नै चलेको थियो।’ क्याल्कुलेटर आज सामान्य र अनिवार्य साधन बनिसकेको उल्लेख गर्दै उनले भने, ‘आगामी १० वर्षभित्र एआईको अवस्था पनि त्यस्तै हुनेछ।’

    प्रविधिलाई सरल रूपमा ग्रहण गर्न सके यसले कार्यसम्पादनमा सहजता ल्याउने उनले बताए। पेसागत मर्यादाको रक्षाका लागि उच्च व्यावसायिक नैतिकता, निष्पक्षता र इमानदारिता नै मूल मर्म हुनुपर्नेमा उनले जोड दिए। यस्ता गुणहरूले नै समाज र राज्यको लेखापरीक्षण पेशाप्रतिको विश्वासलाई थप मजबुत बनाउने उनको तर्क छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार