Nov 03 2026 | २०८३ कार्तिक १८ गते

अनावश्यक भण्डारण नगरौँ, ग्यास अभाव दुई हप्ताभित्र हट्छ : निगम

अनावश्यक भण्डारण नगरौँ, ग्यास अभाव दुई हप्ताभित्र हट्छ : निगम

बुधवार, श्रावण २० २०८३
  • काठमाडौँ । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा खाना पकाउने एलपी ग्यासको मागमा अस्वाभाविक वृद्धि भएको कारण उपभोक्ताको मागअनुसार आपूर्ति गर्न नसकिएको बताएका छन्।बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

    ग्यास आयात विगतको तुलनामा बढ्दै गए पनि उपभोक्ताको अस्वाभाविक मागका कारण आपूर्ति गर्न सहज नभएको उनले बताएका छन्। एउटा सिलिन्डरले केही समय धान्ने अवस्थामा तत्काल अर्को सिलिन्डरका लागि नाम दर्ता गर्दा वास्तविक आवश्यकतामा रहेका उपभोक्ता प्रभावित भएको उनले उल्लेख गरे। उनले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न पनि आग्रह गरेका छन्।

    images

    samiti

    निगमले भारतीय आयल कर्पोरेसनसँग दुई महिनाका लागि मासिक ६० हजार मेट्रिक टन एलपी ग्यास माग गरेको जानकारी दिँदै उनले यसअघि मासिक करिब ४७ हजार मेट्रिक टन ग्यास आयात हुँदै आएको बताएका छन्। निगमको उक्त मागअनुसार थप ग्यास तत्काल उपलब्ध गराउन नसकिने जवाफ भारतीय आयल कर्पोरेसनले दिएको बरालको भनाइ छ।

    निगमले दसैँ–तिहारलाई लक्षित गर्दै भारतबाट ग्यास आयात बढाउने प्रयास गरिरहेको उनले बताएका छन्। बैठकमा बोल्दै उनले भने, ‘ग्यासको आयातमा केही वृद्धि भएको छ। तर वास्तवमा हामीले कन्ज्युमरको डिमान्डलाई व्यवस्थापन गर्न सकिएको अवस्था भने छैन।’ उनले थपे, ‘उपभोक्ताको माग सम्बोधन गर्नका लागि हामी लागिपरेका छौँ।’

    सरकारले पहल गरेर मासिक ५० देखि ५५ हजार मेट्रिक टन ग्यास आयात सुनिश्चित गर्न सके दसैँ–तिहारअघि उपभोक्ताका घरमा रहेका खाली सिलिन्डरसम्म भर्न सकिने र त्यसपछि बजारमा आपूर्ति अवस्था सामान्य बन्ने विश्वास उनले व्यक्त गरेका छन्। उनले भने, ‘सरकारले नै आग्रह गरेर ५० देखि ५५ हजार मेट्रिक टन ग्यास आयात हुने अवस्था भइदियो भने हामीले यो दसैँ र तिहारलाई मध्यनजर गरेर जनताका घरमा खाली रहेका सिलिन्डरहरू समेत भरिदिन सक्छौँ।’

    बजारमा उत्पन्न ग्यास अभावको समस्या अबको दुई हप्ताभित्रमा हल भइसक्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार