Nov 03 2026 | २०८३ कार्तिक १८ गते

विश्व कप

२०२६ फिफा विश्वकपको सेमिफाइनल समीकरण पूरा: यी हुन् अन्तिम चारमा पुगेका महारथीहरू

२०२६ फिफा विश्वकपको सेमिफाइनल समीकरण पूरा: यी हुन् अन्तिम चारमा पुगेका महारथीहरू

आइतवार, आषाढ २८ २०८३
  • काठमाडौं । ४८ टोलीबाट सुरु भएको फिफा विश्वकप २०२६ अब अन्तिम चार टोलीमा आइपुगेको छ । एक महिनाभन्दा लामो प्रतिस्पर्धा, दर्जनौं रोमाञ्चक खेल र थुप्रै अप्रत्याशित नतिजापछि फ्रान्स, स्पेन, इंग्ल्यान्ड र साविक विजेता अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएका छन् ।

    क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदा स्पेनले बेल्जियममाथि २–१ को कठिन जित निकाल्यो । इंग्ल्यान्डले अतिरिक्त समयमा नर्वेलाई २–१ ले पन्छायो भने अर्जेन्टिनाले पनि अतिरिक्त समयसम्म पुगेको खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्‍यो ।

    images

    अब पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन तथा दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिना भिड्नेछन् । संयोग यस्तो छ कि अन्तिम चारमा पुगेका सबै टोली विश्व फुटबलका स्थापित शक्ति हुन् ।

    चारै टोलीले यसअघि विश्वकप जितिसकेका छन् । फ्रान्स तेस्रो, स्पेन र इंग्ल्यान्ड दोस्रो तथा अर्जेन्टिना चौथो उपाधिको खोजीमा छन् ।

    फ्रान्स

    WhatsApp Image 2026-07-12 at 2.19.11 PM.jpeg
    undefined

    पछिल्लो एक दशकमा विश्व फुटबलको सबैभन्दा स्थिर टोलीमध्ये एक बनेको फ्रान्स फेरि विश्वकपको उपाधिनजिक पुगेको छ । सन् २०१८ को विजेता र २०२२ को उपविजेता फ्रान्सले २०२६ मा पनि आफ्नो शक्ति देखाउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।फ्रान्सले समूह चरणमा सेनेगललाई ३–१, इराकलाई ३–० र नर्वेलाई ४–१ ले हराउँदै समूह विजेताका रूपमा नकआउट चरणमा स्थान बनाएको थियो । अन्तिम ३२ मा स्वीडेनमाथि ३–० को जित निकालेको फ्रान्सले अन्तिम १६ मा पाराग्वेलाई १–० ले पन्छायो ।क्वाटरफाइनलमा मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा पुगेको हो ।फ्रान्सको सबैभन्दा ठूलो शक्ति कप्तान किलियन एमबाप्पे हुन् । उनले प्रतियोगितामा आठ गोल गरिसकेका छन् र गोल्डेन बुटको दौडमा लियोनल मेसीसँगै संयुक्त रूपमा शीर्ष स्थानमा छन् । एमबाप्पेले गोल मात्र होइन, तीन गोलका लागि अवसरसमेत सिर्जना गरेका छन् । ओस्मान डेम्बेलेले पनि पाँच गोल गर्दै फ्रान्सको आक्रमणलाई थप खतरनाक बनाएका छन् ।फ्रान्स यसअघि सातपटक विश्वकपको सेमिफाइनल खेलिसकेको थियो । २०२६ मा आठौं सेमिफाइनल खेल्न लागेको फ्रान्सले सन् १९९८ र २०१८ मा उपाधि जितेको छ । २००६ र २०२२ मा फाइनल पुगेपनि उपाधि जित्न सकेन । डिडियर डेसच्याम्पको टोलीका लागि अब स्पेनको चुनौती पार गर्दै लगातार दोस्रो विश्वकप फाइनल पुग्ने लक्ष्य हुनेछ ।

    स्पेनWhatsApp Image 2026-07-12 at 2.24.15 PM.jpeg

    स्पेनको विश्वकप यात्रा सुरुमै अपेक्षाअनुसार थिएन । प्रतियोगिताको पहिलो खेलमा विश्वकपमा पहिलोपटक सहभागी केप भेर्डेसँग गोलरहित बराबरी खेलेपछि स्पेनमाथि प्रश्न उठेका थिए ।तर त्यसपछि स्पेनले आफ्नो असली रूप देखायो । दोस्रो खेलमा साउदी अरेबियालाई ४–० ले हराएको स्पेनले समूहको अन्तिम खेलमा उरुग्वेलाई १–० ले पन्छाउँदै समूह विजेता बन्यो ।अन्तिम ३२ मा अस्ट्रियामाथि ३–० को सहज जित निकालेको स्पेनले अन्तिम १६ मा छिमेकी पोर्चुगललाई १–० ले हरायो ।क्वाटरफाइनलमा बेल्जियमविरुद्ध भने स्पेनले कठिन परीक्षा दिनुपर्‍यो । फाबियन रुइजको गोलबाट अग्रता बनाए पनि बेल्जियम खेलमा फर्किएको थियो । तर खेल सकिन दुई मिनेट बाँकी रहँदा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई २–१ को जितसहित सेमिफाइनल पुर्‍याए ।स्पेनका लागि मिकेल ओयारजाबालले चार गोल गरेका छन् । युवा स्टार लामिन यामाल, रोड्री, फाबियन रुइज र मेरिनो टोलीका महत्वपूर्ण हतियार बनेका छन् । बल नियन्त्रणमा राख्ने परम्परागत शैलीसँगै लुइस डे ला फुएन्टेको टोलीले यसपटक आवश्यक समयमा सीधा र तीव्र आक्रमण गर्न सक्ने क्षमता पनि देखाएको छ ।स्पेनले विश्वकप इतिहासमा सन् २०१० मा पहिलो र एकमात्र उपाधि जितेको थियो । त्यही प्रतियोगितामा स्पेन पहिलोपटक सेमिफाइनल पुगेको थियो । १६ वर्षपछि स्पेन फेरि अन्तिम चारमा फर्किएको छ । अब उसका अगाडि दुईपटकको विजेता फ्रान्स छ ।

    इंग्ल्यान्ड

    WhatsApp Image 2026-07-12 at 2.26.03 PM.jpeg
    undefined

    सन् १९६६ पछि विश्वकप जित्न नसकेको इंग्ल्यान्ड फेरि उपाधिबाट दुई जित टाढा छ ।इंग्ल्यान्डले समूह चरणको पहिलो खेलमा क्रोएसियालाई ४–२ ले हराउँदै सानदार सुरुवात गरेको थियो । दोस्रो खेलमा घानासँग गोलरहित बराबरीमा रोकिए पनि अन्तिम खेलमा पानामाथि २–० को जित निकाल्दै समूह विजेता बन्यो । नकआउट चरणमा भने इंग्ल्यान्डका हरेक खेल कठिन बनेका छन् । अन्तिम ३२ मा कंगोलाई २–१ ले हराएको इंग्ल्यान्डले अन्तिम १६ मा घरेलु टोली मेक्सिकोमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो । क्वाटरफाइनलमा नर्वेविरुद्ध पनि इंग्ल्यान्ड पछि परेको थियो । तर जुड बेलिङ्घमले टोलीलाई खेलमा फर्काए । निर्धारित समय बराबरीमा सकिएपछि अतिरिक्त समयमा बेलिङ्घमले नै अर्को गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जित दिलाए । नर्वेका सात गोल गरिसकेका एर्लिङ हालान्डलाई रोक्नु पनि इंग्ल्यान्डको जितको महत्वपूर्ण पक्ष बन्यो । कप्तान ह्यारी केनले प्रतियोगितामा छ गोल गरेका छन् । तर बेलिङ्घम पनि चार गोलसहित निर्णायक खेलाडीका रूपमा उदाएका छन् । मेक्सिको र नर्वेविरुद्ध दबाबका बीच निकालिएका जितले थोमस टुखेलको टोलीको मानसिक शक्ति देखाएको छ । इंग्ल्यान्डले सन् १९६६ मा आफ्नो एकमात्र विश्वकप उपाधि जितेको थियो । त्यसपछि १९९० र २०१८ मा सेमिफाइनल पुगे पनि फाइनल पुग्न सकेन । २०२६ सहित इंग्ल्यान्ड चौथोपटक विश्वकपको अन्तिम चारमा पुगेको छ ।तर अब उसका अगाडि साविक विजेता अर्जेन्टिना र लियोनल मेसी छन् । विश्वकप इतिहासमै गहिरो कथा बोकेको इंग्ल्यान्ड–अर्जेन्टिना प्रतिस्पर्धामा यसपटक दाउ फाइनलको टिकट हुनेछ ।

    अर्जेन्टिनाWhatsApp Image 2026-07-12 at 2.34.18 PM.jpeg

    साविक विजेता अर्जेन्टिना फेरि विश्वकपको सेमिफाइनलमा छ । र, फेरि टोलीको केन्द्रमा छन्– लियोनल मेसी । अर्जेन्टिनाले समूह चरणमा अल्जेरियालाई ३–०, अस्ट्रियालाई २–० र जोर्डनलाई ३–१ ले हराउँदै शतप्रतिशत जितका साथ समूह विजेता बनेको थियो । तर नकआउट चरणमा अर्जेन्टिनाको यात्रा सहज रहेन । अन्तिम ३२ मा केप भेर्डेलाई अतिरिक्त समयमा ३–२ ले हराएको अर्जेन्टिना अन्तिम १६ मा इजिप्टविरुद्ध २–० ले पछि परेको थियो । त्यही अवस्थाबाट तीन गोल फर्काउँदै ३–२ को अविश्वसनीय जित निकाल्यो ।

    क्वाटरफाइनलमा स्विट्जरल्यान्डले पनि अर्जेन्टिनालाई अतिरिक्त समयसम्म रोकेको थियो । एलेक्सिस म्याक एलिस्टरको सुरुवाती गोलपछि स्विट्जरल्यान्ड डान एन्डोएको गोलमार्फत खेलमा फर्कियो । तर अतिरिक्त समयमा जुलियन अल्भारेज र लाउतारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई ३–१ को जित दिलाए । मेसीले यस विश्वकपमा आठ गोल गरेका छन् । ३९ वर्षको उमेरमा पनि उनी अर्जेन्टिनाको खेलका मुख्य सूत्रधार हुन् । गोल, पास र निर्णायक क्षणमा खेल परिवर्तन गर्ने उनको क्षमता अझै उस्तै देखिएको छ । जुलियन अल्भारेज, लाउतारो मार्टिनेज, एन्जो फर्नान्डेज र म्याक एलिस्टरले मेसी वरिपरि बलियो टोली निर्माण गरेका छन् । अर्जेन्टिनाले सन् १९७८, १९८६ र २०२२ मा विश्वकप जितेको छ । यसअघि पाँचपटक सेमिफाइनल खेलेको अर्जेन्टिना २०२६ मा छैटौं पटक अन्तिम चारमा पुगेको हो । टोली अहिले लगातार दोस्रो विश्वकप जित्ने अभियानमा छ । यदि अर्जेन्टिनाले इंग्ल्यान्डलाई हरायो भने मेस्सीले आफ्नो अन्तिम हुन सक्ने विश्वकपमा लगातार दोस्रोपटक उपाधिका लागि खेल्नेछन् ।

    चार विश्वविजेता, दुई खेल र एउटै सपना

    फ्रान्स, स्पेन, इंग्ल्यान्ड र अर्जेन्टिना । चारै टोली विश्वविजेता हुन् । चारै टोलीसँग विश्व फुटबलका ठूला स्टार छन् । र, चारै टोली अब उपाधिबाट केवल दुई जित टाढा छन् ।

    एकातिर आठ गोल गरेका एमबाप्पेको फ्रान्स र नयाँ पुस्ताको शक्तिशाली स्पेन भिड्दैछन् । अर्कोतिर ६० वर्षदेखि विश्वकप खोजिरहेको इंग्ल्यान्डका अगाडि मेसीको साविक विजेता अर्जेन्टिना उभिएको छ ।

    ४८ टोलीबाट सुरु भएको विश्वकपमा अब चार टोली बाँकी छन् ।

    दुई सेमिफाइनलपछि दुई टोलीको सपना सकिनेछ । दुई टोली न्युयोर्क न्युजर्सीमा हुने फाइनलका लागि अघि बढ्नेछन् ।

    र जुलाई १९ मा यी चार महारथीमध्ये एकले विश्व फुटबलको सबैभन्दा ठूलो उपाधि उचाल्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार