काठमाडौँ । गाँजा बोकेर मोटरसाइकलमा भाग्दै गरेकालाई नियन्त्रणमा लिन खोज्दा एक जना व्यक्ति बेपत्ता भएका छन् । उनी पानी जमेको दलदले पोखरीमा बेपत्ता भएपछि विराटनगर महानगरपालिका–१८, भेडियारी नाकामा तनाव उत्पन्न भएको छ।
संयुक्त भन्सार जाँच चौकी रहेको भेडियारी भारतको जोगबनीसँग जोडिएको सीमा क्षेत्रमा पर्छ । मोटरसाइकल चलाइरहेका व्यक्ति भेडियारी गाउँकै मञ्जितकुमार यादव रहेको प्रत्यक्षदर्शी गाउँलेले बताएका छन्।
उनीहरुका अनुसार प्रहरीले निकै परसम्म लखेटेपछि भाग्ने ठाउँ नपाएपछि उनी आज बिहान नजिकैको दलदले पोखरीमा पसेका थिए । त्यसपछि बेपत्ता भएकाले गाउँलेहरूले उनको खोजी माग गर्दै विरोध प्रदर्शन गरेका छन्।
बेपत्ता युवकको खोजी गर्न सशस्त्र प्रहरी बलको इटहरीस्थित ब्रिगेडबाट गोताखोरको टोली त्यहाँ पुगेको छ । तर दिउँसो ३ बजेसम्म उनी फेला परेका छैनन्। थप गोताखोरको टोली परिचालन गर्ने तयारीसमेत गरिएको प्रहरीले जनाएको छ। उनी सोही पोखरीमा डुबेको भन्ने तथ्य अझै पुष्टि भइसकेको छैन।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार बिहान बीआर ५० एएल ३६८७ नम्बरको मोटरसाइकलमा ६ किलो १३० ग्राम गाँजा बोकेर उनी भारततर्फ जाँदै थिए । सोही अवस्थामा प्रहरीले रोक्न खोज्दा चालक मञ्जित मोटरसाइकल छाडेर भागे र नजिकैको दलदले पोखरीमा पसे । मोटरसाइकलको पछाडि बसेका भारतीय नागरिक ४१ वर्षीय शिवधर यादवलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।
तीन दिनअघि विराटनगर–जोगबनी मटेरुवा नाकामा बाख्रा तस्करी रोक्न खोज्दा भारतीय पक्षले सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास गरेको थियो। नेपालबाट भारततर्फ बाख्रा तस्करी गर्दा सशस्त्र प्रहरीले रोकेपछि भारतीय बाख्रा व्यापारीहरू भेला भएर भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै अगाडि नेपाली सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास गरेका थिए। घटनाका क्रममा नेपाली सुरक्षाकर्मीमाथि तस्करहरूले आक्रमण प्रयास गर्दा एसएसबी सुरक्षाकर्मीहरु मौन बसेका थिए ।



